सुशीला कार्की (प्रधानमन्त्री एवं कुलपति)
आज हामी यो सुन्दर धुलिखेलको खुलाआकाशमुनि ताजा र चिसो हावउज्यालो मौसममा एकत्रित भइरहेका छौँ ।
विद्वान् प्राज्ञिक वर्गसँगै नयाँ उपाधि र उत्साहसहित कार्यक्षेत्रमा प्रवेश गर्न व्यग्र दीक्षार्थीको यस जमघटले आजको समारोहलाई थप उज्यालो, थप सम्झनायोग्य बनाएको छ ।
आज प्रकृतिले कञ्चन वातावरण र शीतल हावाको स्पर्श जसरी दिइरहेको छ, त्यसैगरी मेरो स्मृतिपटलले पनि विश्वविद्यालयको पढाइ सकेर निस्कँदाको त्यही पुरानो उत्साह र जिज्ञासु दिनलाई ताजा गराइदिएको छ । यो अवसर जुराइदिने विश्वविद्यालय परिवारलाई साधुवाद ।
युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा म प्रधानमन्त्री बनेकी छु। र, ख्यातिप्राप्त काठमाडौँ विश्वविद्यालयको कुलपतिका रूपमा ३१ औँ दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।
गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकांक्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको छ। त्यसको जग बसाल्ने अभिभारा निभाउनमा हामी सरकारको तर्फबाट प्रयास गरिरहेका छौं ।
हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तनहरु आइरहेको यहाँहरुलाई विदितै छ । आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, बसाइसराइ तथा वैश्विक भूराजनीतिले यी परिवर्तनलाई सम्भव बनाइरहेका छन् ।
त्यसैले नेपालको उच्च शिक्षा क्षेत्रमा पनि यी परिवर्तनका आकांक्षा देखिनु स्वाभाविक नै हो। तर उच्च शिक्षामा नेपालको लगानी न्यून नै रहँदै आएको छ। अब त्यो लगानी व्यापक मात्रामा नबढाई ती आकांक्षा पूरा गर्न सम्भव छैन ।
लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदमहरु चालेका छौं ।
पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ। ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।
यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौँ विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुसरण गर्नुपर्ने मैले देखेकी छु ।
विशेषतः नवप्रवर्तन, प्राज्ञिक दक्षता अभिवृद्धि, नेपालका सन्दर्भमा शिक्षक तथा कर्मचारीलाई तुलनात्मक रूपमा राम्रो पारिश्रमिकजस्ता विषयहरू यस विश्वविद्यालयबाट अरूले सिक्नुपर्छ जस्तो लाग्छ ।
इसिमोडमा सचिवालय हुने गरी सन् २००७ मा स्थापना भएको हिमालयन युनिभर्सिटी कन्सोर्टियमको नयाँ सचिवालय काठमाडौँ विश्वविद्यालयमा हुने कुराले मलाई हर्षित बनाएको छ । यो यस विश्वविद्यालयको उत्कृष्टताको अर्को द्योतक हो । म यसका लागि विश्वविद्यालयलाई बधाई दिन चाहन्छु ।
विशेषतः नेपाल र यसका छिमेकी हिमाली देशहरू वैश्विक तापमान वृद्धि र जलवायु परिवर्तनको मारमा परेको परिप्रेक्ष्यमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको नयाँ सचिवालय काठमाडौँ विश्वविद्यालयमा हुँदा यस क्षेत्रको ऐक्यबद्ध आवाज विश्वसामु प्रस्तुत गर्न सहज हुन्छ ।
यसको नेतृत्वदायी भूमिका पूरा गर्न विश्वविद्यालयलाई सफलता मिलोस् ।
जलवायुसम्बन्धी काम गर्ने सरकारका विभिन्न निकायहरू पनि यस विश्वविद्यालयलाई सहयोग गर्न तत्पर रहनेछन् भन्ने कुरा पनि आश्वस्त पर्न चाहन्छु ।
विद्यार्थी भर्नाको प्रतिशत यस वर्ष वृद्धि गराउन सकेकोमा पनि म काठमाडौँ विश्वविद्यालयलाई बधाई दिन चाहन्छु ।
नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा यहीँ नै उल्लेख्य सङ्ख्यामा विद्यार्थी टिकाउन सक्नु खुशीको कुरो हो ।
आफ्नै देशमा तुलनात्मक रूपमा सस्तो मूल्यमा अध्ययन गर्ने वातावरण बनाउन र शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ–नयाँ कार्यक्रम थप गर्ने कार्यमा सघाउन शिक्षामन्त्रीज्यूमार्फत म सम्बन्धित सबै सरोकारवालाहरूलाई यहीँबाट निर्देशन दिन्छु ।
काठमाडौँ विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स, ग्ल्यासियोलोजी, हेरिटेज कन्जर्भेसन जस्ता प्रयोगात्मक नयाँ विषयहरू राखेको छ। यहाँबाट ती विषयमा उत्पादित मानव संसाधन सरकारलाई पनि अत्यन्त उपयोगी बन्छन्। ती पाठ्यक्रमको अध्ययनमा सहजीकरण गर्न र उत्पादित स्नातकहरूलाई देशको विकास निर्माणमा लगाउन सरकारले ध्यान दिनेछ भन्ने कुरामा पनि म विश्वास दिलाउँछु ।
नेपालको भौगोलिक, सांस्कृतिक र सामाजिक विशेषता तथा खुला लोकतान्त्रिक व्यवस्थाले नेपाललाई सार्क क्षेत्रको शैक्षिक केन्द्र बनाउन सकिने व्यापक सम्भावना छ । काठमाडौं विश्वविद्यालयले पछिल्ला तीन दशकमा लगातार १२ प्रतिशत विदेशी विद्यार्थी पढाउन सक्नुले पनि यो कुरा पुष्टि हुन्छ ।
हालसम्म विश्वविद्यालयकै एकल पहलका कारण नै यी उपलब्धि हासिल हुन सकेकोमा अब सरकारले पनि सहजीकरण गरिदिनुपर्ने मैले देखेकी छु ।
विदेशी प्राध्यापकहरूलाई भिसा सहजीकरण गर्ने र विदेशी विद्यार्थीलाई सिधै विद्यार्थी भिसा उपलब्ध गराउने विषय छलफलमा उठेको छ । यसबारे सम्बन्धित निकायहरूसँग थप गृहकार्य गरी निर्णयमा पुग्न सकिन्छ ।
प्रिय विद्यार्थीहरु,
आज यहाँ उच्च शिक्षाका विभिन्न विधामा विभिन्न उपाधि हासिल गरी दीक्षित हुनुभएका स्वदेशी र विदेशी सबै विद्यार्थीहरूलाई हार्दिक बधाइ भन्न चाहन्छु । आजको दिन तपाईँहरुको ज्ञान, परिश्रम र दृढ संकल्पको उत्सव हो ।
तर आज तपाईंहरूले पाएको उपाधि अन्तिम लक्ष्य होइन, नयाँ यात्राको सुरुवात हो । हो, तपाईँहरुले जीवन र जगतलाई हेर्ने एउटा फराकिलो दृष्टि पाउनुभएको छ। आफ्नो चरित्र र भाग्य निर्माण गर्ने सीप र संस्कार पाउनुभएको छ। अब यसलाई व्यक्तिगत सफलतासँगै समाज, समुदाय र राष्ट्रको हितमा पनि लगाउनुहोस् भन्ने मेरो विनम्र आग्रह छ ।
मैले भन्ने गरेकी छु, यो मुलुक हाम्रो हो। हामीले नबनाए कसैले आएर बनाइदिँदैन।
तसर्थ, म तपाईँहरुमा विशेष अनुरोध गर्छु–
– सकेसम्म देशमा भएका अवसरहरू पहिचान गर्नुहोस्,
– अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गर्नुहोस्,
– र जहाँ गए पनि नेपालले गर्व गर्ने नागरिक भएर अघि बढ्नुहोस् ।
यस विश्वविद्यालयले तपाईंहरूमा रोपेको मूल्य, चरित्र र चेत व्यवहारमा यसरी देखाउनुहोस् कि, जसलाई टाढैबाट चिन्न सकियोस् ।
सरकारका तर्फबाट तपाईंहरूलाई दिने धेरै आश्वासन मसँग छैनन् । छ त केवल आह्वान मात्रै – तपाईँ आफैँ अगाडि आउनुहोस्। आफ्नो स्थान आफैँ बनाउनुहोस् । आज राष्ट्रले तपाईंहरूसँग ठूलो आशा राखेको छ। यो राष्ट्र तपाईँ युवाले नै सम्हाल्नुहोस् । सबैको ऐक्यबद्ध प्रयास भएमा समुन्नत नेपाल निर्माण गर्न धेरै समय लाग्ने छैन ।
तपाईंहरूको आगामी यात्रा सफल, सार्थक र उज्ज्वल होस् ।
फेरि पनि बधाइ, आज दीक्षित २ हजार २ सय ९ जना विद्यार्थी, अभिभावक र सिंगो केयू परिवारलाई ।
धन्यवाद ।
२०८२ मंसिर २४ गते धुलिखेल, काभ्रेपलाञ्चोक ।
