काठमाण्डौ/ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायतका १० वटा कम्युनिष्ट घटकहरु एक भएका छन्।
काठमाण्डौस्थित प्रदर्शनीहल भृकुटी मण्डवमा भएको एकता सम्मेलनले पार्टीको घोषणा पत्र ,पार्टीको आन्तरिक बिधान र पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सह- संयोजकमा माधब कुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ।
मुलुक अब समाजवाद हुँदै साम्यवादको दिशातर्फ लाग्न एकताले महत्वपुर्ण भुमिका खेल्ने कुरा बक्ताहरुले संम्बोधनका क्रममा राखेका थिए। पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका तर्फबाट २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरिएको थियो भने जेनजी आन्दोलनका मागहरु पुरा गर्न पार्टीले प्रतिवद्धता जनाएको थियो।
नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रको स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने नेताहरुले ब्यक्त गरेका थिए ।
राष्ट्र र जनताप्रति इमानदार, निष्ठावान् र समर्पित भई काम गर्ने प्रतिवद्धता जनाएको उक्त पार्टीले मार्क्सवाद–लेनिनवादका सार्वभौम सच्चाइ हरूप्रति दृढ रहँदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागु गर्ने जनाएको छ ।
‘समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने’, नेपाली कम्युनिस्ट पार्टीले भनेको छ, ‘लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको सुदृढीकरण र राज्यका सबै अङ्गमा आवश्यक सुधार एवम् पुनर्संरचना गर्न अग्रसर हुने ।’
त्यस्तै, नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने उक्त पार्टीले प्रतिवद्धता नेताहरुले सम्बोधनका क्रममा बताएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीले भ्रष्टाचार, कालोबजार ,अनियमितता ,ढिलासुस्तीको अन्त्य गर्दै सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने जानाकारी गराएका थिए
उच्चस्तरीय अधिकार सम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारवाही गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका थिए । शिक्षा, स्वास्थ्यलगायत जनताका आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्नेप्रतिवद्धता जनाएका छन् ।
समाजमा रहेका सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद, असमानता र विकृति विसंगतिको अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्ने संम्बोधनका क्रममा नेताहरुबाट ब्यक्त भएका थिए।
स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिबीक अन्त्य गर्न विशेष कार्यक्रम पार्टीले ल्याउनु पर्नेमा जोड दिईएको थियो ।
वर्तमान नेपाली समाजको आर्थिक–सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने जनाएको छ ।
विगतका कामको समग्र समीक्षा गरेर त्यसबेला भएका कमी कमजोरीहरू सच्याउँदै सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न प्रतिवद्धतामा उल्लेख गरेका थिए ।
‘पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागु गर्नु पर्नेमा र पार्टीका सबै नेता तथा कार्यकर्ताहरु उत्पादन र श्रम कार्यमा संलग्न हुनुपर्नेमा जोड दिईएको थियो ।सो पार्टीले कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने दाबी गरेको छ । यो पार्टीका नेता कार्यकर्ताहरुले सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने जनाएका थिए।
