‘मोन्था’को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा

काठमाडौँ । ‘मोन्था’ चक्रवातको प्रभावले देशभर मौसम बदली भएको छ । पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

अभिलेखअनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार ‘मोन्था’ चक्रवातको असर मुख्यतः मधेश र कोशी प्रदेशमा देखिएको छ, यद्यपि बागमतीलगायत अन्य प्रदेशहरूमा पनि

यसको प्रभावका कारण बदली र वर्षा भइरहेको छ । उनका अनुसार यो भारी वर्षा मानिन्छ, र २०० मिलिमिटर नाघेपछि यसलाई “अति भारी वर्षा” को श्रेणीमा राखिन्छ ।

पछिल्लो २४ घण्टामा धेरै जिल्लामा उल्लेखनीय वर्षा भएको छ— उदयपुरमा ९७.६ मिलिमिटर, झापामा ९३.६ मिलिमिटर, ललितपुरमा ७२ मिलिमिटर र काठमाडौँमा ४० मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ । देशभरका दुई दर्जनभन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ८० मिलिमिटर वर्षा भएको छ ।

कायस्थका अनुसार बङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवात हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा सक्रिय छ, जसको प्रभाव नेपालमा आज साँझसम्म रहने अनुमान गरिएको छ । त्यसपछि मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएको छ ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरबाट विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहँदा देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली र मध्यम वर्षा भइरहेको छ भने, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा रेकर्ड भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय