काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट करिब ११ किलो २७५ ग्राम अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर रहेका छन्।
एयर एसियाको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।
