काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका मध्ये हालसम्म ५ हजार ५४७ कैदीबन्दी अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार फरार कैदीबन्दीलाई फिर्ता ल्याउने कार्यलाई अब अझ प्रभावकारी र समन्वित रूपमा अघि बढाइनेछ। आइतबार बसेको गृहमन्त्री स्तरीय बैठकले यस विषयमा केही महत्त्वपूर्ण निर्णयहरू गरेको विभागले जनाएको छ। हालसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फिर्ता भइसकेका छन्।
फरार कैदीबन्दीहरूको खोजीका लागि सम्बन्धित कारागार कार्यालयहरूबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई उपलब्ध गराइनेछ। साथै, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्था विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभाग लगायत सेवाग्राहीको आवागमन धेरै हुने निकायहरू र देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पनि पठाइनेछ।
यसबाहेक, फरार कैदीबन्दीको विवरण विभागको वेबसाइटमा प्रकाशित गरिनेछ। जिल्लास्थित सार्वजनिक निकायहरूमा पनि सो विवरण उपलब्ध गराइने र कुनै सार्वजनिक सेवा लिन आएका व्यक्तिहरूमध्ये फरार कैदीबन्दी फेला परे तुरुन्तै पक्राउ गरिने व्यवस्था गरिएको छ।
विभागका अनुसार, फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।
